सेनाले दुई दिनमै गर्‍यो बूढीगण्डकीले पुल बगाएको आरुघाटमा बेलिब्रिज जडान



काठमाडौँ। नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमा दुई दिनभित्रै ुबेलिब्रिजु जडान कार्य सम्पन्न गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको भाग बगाएपछि नेपाली सेनाले असोज ३१ गतेदेखि बेलिब्रिज निर्माण सुरु गरेको थियो। सेनाले छोटो समयमै जडान सम्पन्न गरी यातायात पुनः सञ्चालन गराएपछि स्थानीय नागरिकहरूले सेनाको कामको प्रशंसा गरेका छन्।

करिब २७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ रहेको उक्त बेलिब्रिज सञ्चालनमा आएपछि धादिङ र गोरखा आसपासका बासिन्दालाई आवतजावतमा सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ढुवानी गर्न ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएसँगै आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०८३ सोमबार  ६ : ३४ बजे