काठमाडौं । दुर्गा भवानीको विशेष पूजाआराधना गरी आज देशभर महानवमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ ।
महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा देवीलाई चढाउनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
यस दिन पशुबलि दिने चलनसमेत रहेको छ। विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिइन्छ । कतिपय स्थानमा पञ्चबलि दिने प्रचलन पनि छ । पशुबलि नदिने तथा शाकाहारीले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललाई बलिका रूपमा चढाउने गर्छन् । यसका साथै पायस पनि अर्पण गरिन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेको विश्वास छ । यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।
नवरात्रको अन्तिम दिन महानवमीमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गर्ने परम्परा छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिन्छ ।
महानवमीसँगै दसैँको धार्मिक र सांस्कृतिक उल्लास थप बढेको छ ।










