शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता



काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ ।

मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार भेटमा मन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी गराए ।

उनले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी गराउँदै यस प्रक्रियामा आवश्यक नीतिगत सुधारका कामसमेत भइरहेको उल्लेख गरे ।

भेटवार्तामा उच्च शिक्षाको क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हित संरक्षणका विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०८३ मंगलबार  ८ : ०० बजे