काठमाडौं, कात्तिक १७ । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन जोडे ।
एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो । इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । यस सिजनको यो पहिलो शतकीय साझेदारी हो ।
यस्तै आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।
जनकपुरका लागि बलिङमा अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।










