चितवन । घोप्टेभीरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको थियो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा आज बिहान खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा चालु गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए । मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो ।
उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केहीबेर सडक अवरुद्ध भएको थियो । गएराति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक चालु गरिएको हो ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।










