भक्तपुर । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् ।
मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्नु महत्वपूर्ण उपलब्धि भएपनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले नेपाल संवत वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको उल्लेख गरे।
नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, आवश्यक बजेट र कार्ययोजना बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको सभामुख अर्यालले बताए ।
शङ्खधर साख्वाको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितमा काम गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्दै उहाँले उक्त मूल्यलाई आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा समेत आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख अर्यालले नेपाल संवत् आन्दोलनले भाषा, लिपि र संस्कृतिको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।










