रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान



काठमाडौँ । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज चीन प्रस्थान गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको प्रतिनिधिमण्डलको भ्रमण अवधि १०दिनको हुनेछ। भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा। आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरे । टोलीलाई यसअघि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र साह बालेनले छुट्टाछुट्टै निर्देशन दिएका थिए ।

लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका हुन् । शनिबार रवि निवासमा भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

मुख्य सचेतक बुर्लाकोटीले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका लागि सभापति लामिछानेद्वारा मार्गनिर्देशन प्राप्त भएको उल्लेख गरे ।

यता शुक्रबार बालेनसँग सांसदहरूले भेट गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री साहसँग छलफल गरेका थिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले प्रधानमन्त्री साहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताएका थिए ।

उनले भने, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”

प्रकाशित मिति : कार्तिक २९, २०८३ आइतबार  १ : २८ बजे