उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न



काठमाडौँ । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गरी मनाइने छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ पर्व समापन हुने धार्मिक विधि छ। बिहानै घाटमा गरिने यस पूजालाई ‘भिन्सरघाट’ भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोअनुसार सोमबार बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय भएको थियो। सूर्योदय हुनुअघि व्रतालुहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्यको प्रतीक्षा गरी दर्शन तथा अर्घ्यदान गर्ने परम्परा छ। अर्घ्यदान र सूर्य दर्शनसँगै छठ घाटमा प्रसाद वितरण गरिएको छ।

पृथ्वीमा रहेका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए। सूर्यषष्ठीसमेत भनिने कात्तिक शुक्ल षष्ठीमा सूर्यको पूजाआराधना गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ।

यस पर्वमा सूर्यको पूजा र दर्शन गरी विवाहिता महिला तथा पुरुषले जीवनसाथीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधू प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनासहित यो कठोर व्रत बस्नेहरूको सङ्ख्या पनि उल्लेख्य रहने गर्छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्व गत शुक्रबार सुरु भएको थियो। चतुर्थीका दिन स्नान गरी चोखो खाएर ‘नहाय–खाय’ विधिबाट सुरु हुने पर्व अवधिभर व्रतालुले माछा, मासु, लसुन, प्याज, कोदो, फापर र मुसुरो आदि नखाने नियम छ। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालु रातभर घाटमै जाग्राम बसी सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत तोडेका छन्।

विशेषगरी तराई–मधेसमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत विस्तार भएको हो। विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्त्वका साथ छठ मनाउन थालिएको थियो। विसं २०७२ को भूकम्पपछि रानीपोखरीमा छठ हुन छाडे पनि पछिल्लो समय कमलपोखरी, गुह्येश्वरी, थापाथली, बल्खुलगायत स्थानमा घाट निर्माण गरी भव्य रूपमा पर्व मनाइने गरिएको छ। धेरै व्रतालु आइतबार रातभर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए।

दुई दशकअघिसम्म पूर्वी तराई–मधेसका केही जिल्लामा मात्र सीमित छठ पर्व देशव्यापी बनेपछि सरकारले यस वर्षदेखि कात्तिक शुक्ल सप्तमीका दिन सोमबार पनि सार्वजनिक बिदा दिएको छ। पछिल्लो समय सबै धर्म र समुदायका नागरिकको सहभागिताले यो पर्व साझा सांस्कृतिक उत्सवका रूपमा विकसित हुँदै गएको छ।

धार्मिक ग्रन्थअनुसार सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको विश्वास छ। महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवास सफल होस् भनी मिथिलाका राजा विराटको दरबारमा रहँदा सूर्यदेवको आराधना गरेपछि यो पर्वको थालनी भएको मानिन्छ। यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकाले त्यही बेलादेखि छठ मनाउने परम्परा सुरु भएको जनविश्वास छ।

प्रकाशित मिति : कार्तिक ३०, २०८३ सोमबार  ९ : ५७ बजे