काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । एमालेले सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेलाको जानकारि दिएको हो ।
पार्टीको केन्द्रिय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले कुनै नयाँ निर्णय नगर्ने स्पष्ट पारे । उनले राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीले यसअघि गरेका निर्णयलाई कार्यान्वयनमा एकरूपता कायम गराउनु रहेको बताए ।
पोखरेलले राष्ट्रिय भेला निर्णय गर्ने निकाय नभई भएका निर्णयलाई पार्टीका सबै तहसम्म पु¥याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रिय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताए ।










