काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सिमित भएका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन् ।
सोमवार जनकपुरधाममा पार्टीका सांसद डा। अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिने बताए ।
उनले मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताए।
लामिछानेले घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिवद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गरे ।
लामिछानेले मधेस र सिङ्गो देशका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि नीतिगत सुधार आवश्यक रहेकोले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताए ।










