गगन थापाले भने- निर्वाचन निष्पक्ष बनाउने मुख्य जिम्मेवारी सरकारको हो



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचन निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माणमा सरकारले सक्रिय पहलकदमी लिनुपर्ने बताएका हून् ।

‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ, तर त्यो सीमित छ,’ उनले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ।’

थापाले राजनीतिक दललाई नचिन्ने र नमान्ने भन्दै सरकार अघि बढ्न खोजे पनि निर्वाचनका बेला त्यस्तो व्यवहार स्वीकार्य नहुने बताए। निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले सरकारले राजनीतिक दलहरूसँग आवश्यक संवाद र सहकार्य गर्नुपर्ने उनको जोड थियो।

‘निर्वाचनका बारेमा सरकारले दलहरूसँग संवाद गर्नुपर्छ। निर्वाचनबारे संविधानले निर्दिष्ट गरेको व्यवस्था छ,’ उनले भने।

प्रकाशित मिति : मंसिर ४, २०८३ शुक्रबार  ३ : २८ बजे