एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, छिट्टै सरकारमा फर्किन्छौँ : ओली



काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको नभएको भन्दै छिट्टै पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् ।

शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फेरि निर्वाचन जितेर कानुन निर्माण र सरकार सञ्चालन गर्ने स्थानमा पुग्ने बताएका हुन् ।

‘अहिले हामी केन्द्रीय तहबाट गर्ने ठाउँमा छैनौँ, तर धेरै ढिलो होला जस्तो लाग्दैन । हामी फेरि कानुन बनाउने ठाउँमा पुग्छौँ,’ उनले भने, ‘हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन । हामी जित्छौँ ।’

ओलीले मुलुकको विकास, राष्ट्रियताको रक्षा र देश निर्माणको जिम्मेवारी एमालेको काँधमा रहेको दाबीसमेत गरे । एमालेले पुनः जित हासिल गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले पार्टीले देश बनाउने र राष्ट्रियताको संरक्षण गर्ने बताए ।

उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्ने भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो कार्यशैली सुधार्न निर्देशन दिए ।

विगतमा जनप्रतिनिधिका रूपमा काम गर्दा कुनै कमजोरी भएको भए त्यसलाई तत्काल सच्याउन र जनतामाझ कायम विश्वासलाई थप बलियो बनाउन उनले आग्रह गरे ।

‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ । यदि हिजो केही कमजोरी रहे भने, केही पोखिएको छ भने हतारहतार उठाउनुस्,’ ओलीले भने, ‘पोखिएको हुनसक्छ कतै, हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस् ।’

प्रकाशित मिति : मंसिर ४, २०८३ शुक्रबार  ६ : २२ बजे