नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक ५ घण्टा बन्द हुने



काठमाडौं । नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनाअनुसार घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त ढुङ्गा तथा माटो पन्छाउने कार्य सुरु गर्न लागिएको हो।

प्रशासनले तोकिएको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको छ।

प्रकाशित मिति : मंसिर ४, २०८३ शुक्रबार  ६ : ३४ बजे