तल्लो अरुण जलविद्युत् आयोजना : नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार संयुक्त शिलान्यास गर्ने



काठमाडौँ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन्। एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी ९एसएलपिडिसी० का प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ।

दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री साह र भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाटै डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी दिए। डिजिटल शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमै गरिने कम्पनीले जनाएको छ।

सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने यो आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्। आयोजना निर्माणस्थलमा पर्ने ६५६ जनालाई कुल १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने लक्ष्य लिइएकामा प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ वितरण भइसकेको छ। उक्त क्षेत्रमा जग्गाको मूल्याङ्कन ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ।

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि जम्मा भएको पानी खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव ३ किलोमिटर सुरुङमार्फत विद्युत् गृहमा लगिनेछ। ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको परियोजना विकास सम्झौता ९पीडीए० अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० ढाँचामा निर्माण हुनेछ।

पाँच वर्ष निर्माण अवधि रहने आयोजनाबाट कुल उत्पादित विद्युत्को २१ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउनेछ भने व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि चालु अवस्थामै आयोजना निःशुल्क रूपमा नेपाल सरकारलाई हस्तान्तरण हुनेछ। २०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसएलपिडिसीबीच पीडीए सम्झौता भएको थियो। यो आयोजना निर्माणले सङ्खुवासभासहित कोशी प्रदेशको ऊर्जा विकास, पूर्वाधार विस्तार र आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : मंसिर ६, २०८३ आइतबार  ६ : ४५ बजे