नयाँ दिल्ली । भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय विदेशमन्त्री डा। एस जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता भएको छ। भ्रमणको पहिलो दिन साँझ ६ बजे प्रधानमन्त्री साह बसेकै होटलमा उक्त भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३५ सदस्यीय आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री साह आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।
नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नेपाली समयअनुसार अपराह्न ३ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री साहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। विमानस्थलबाट उनी सिधै बसाइका लागि तय गरिएको होटल ताजमहल पुगेका थिए।
भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।
भ्रमणको दोस्रो दिन सोमबार बिहान प्रधानमन्त्री साहले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्नेछन्। सोही दिन उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ










