नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको छः अर्थमन्त्री वाग्ले



काठमाडौं, मंसिर ९ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताएका छन् ।

बुधबार अर्थ समितिको बैठकमा नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष परिचालनको अवस्था, लगानी र प्रतिफलको स्थिति, भावी कार्ययोजना तथा समस्या एवं सुधारका क्षेत्रबारे जानकारी दिँदै उनले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको बताए ।

उनले भने, ‘यो ४७ सालमा आएको विधेयक, यसलाई अलिकति समयानुकूल अद्यावधिक गर्न नै हामीले खोजेका हौँ । र त्यसो गर्नका पछाडि यसको क्षमता अभिवृद्धि गर्ने, कोषको पुँजी संरचनामा चाहिँ सुधार गर्नलाई अब यो चुक्ता पुँजी पनि वृद्धि गर्ने, लगानीका क्षेत्र र वित्तीय उपकरणहरू अहिले नयाँ–नयाँ वित्तीय उपकरणहरू आइरहेका छन त्यसको दायरा पनि विस्तार गर्ने ।’

उनका अनुसार कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउने, सेयर कित्ता ८ करोडबाट १० करोड पुर्याउने तथा चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ ।

विधेयकमा निजी इक्विटी, भेन्चर क्यापिटलजस्ता नयाँ लगानीका क्षेत्रसँगै पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने विषयसमेत समेटिएको छ ।

‘जस्तो ४७ साल अलि पुरानो युगमा हामीले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता विषयमा प्रवेश गरेका थिएनौँ। अब त्यता पनि गर्नुपर्ने भयो । त्यस्तै पूर्वाधार र उत्पादनमूलक एवं आवास क्षेत्रमा पनि९हाउजिङ सेक्टर पनि ठूलो,’उनले भने ।

विधेयकमा कोषको परिभाषा तथा कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, लगानीका क्षेत्र तथा वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरणलगायत विषय समेटिएको उनले बताए ।

संशोधन प्रस्तावअनुसार सञ्चालक समितिको पुनर्संरचना दफा २५ मा, लगानीका क्षेत्र तथा वित्तीय उपकरण विस्तार दफा ३२ मा र लेखा प्रणालीको आधुनिकीकरण दफा ३७ र ३८ मा व्यवस्था गरिएको छ । त्यस्तै, कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार निर्धारण तथा कोषको विशेष अधिकार विस्तार गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ ।

त्यस्तै, मुद्दती निक्षेपमा लगानीसम्बन्धी व्यवस्था, राष्ट्रिय बीमा संस्थानको सट्टा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड राख्ने तथा कानुनी शब्दावलीमा आवश्यक परिमार्जन गर्ने प्रस्तावसमेत विधेयकमा गरिएको छ ।

अर्थमन्त्री वाग्लेले संशोधनपछि कोषको पुँजीगत तथा संस्थागत क्षमता अभिवृद्धि हुने, राष्ट्रिय प्राथमिकताका पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : मंसिर ९, २०८३ बुधबार  २ : ५२ बजे