काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार संगठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्वका विषयमा केन्द्रित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको हो ।
उनका अनुसार प्रशिक्षण कार्यक्रमको प्रारम्भिक खाका तयार भइसकेको छ । शनिबारसम्म आवश्यक तयारी पूरा गरी आइतबारदेखि एकैसाथ सातै प्रदेशमा कार्यक्रम अघि बढाउने पार्टीको योजना छ ।
खरेलले प्रशिक्षणलाई पार्टीको आन्तरिक संरचना बलियो बनाउने अभियानका रूपमा व्याख्या गर्दै केन्द्रीय नेतृत्वको सहभागितामा कार्यक्रम सञ्चालन हुने बताए ।
प्रशिक्षणका क्रममा पार्टीको नीति तथा नेतृत्वबारे अभिमुखीकरण गर्नुका साथै आगामी स्थानीय तह निर्वाचनको तयारी, सङ्गठन परिचालन र चुनावी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।










