काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् ।
१५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर लैजान तयार रहेको बताए ।
‘सबै मिलाएर लिन कांग्रेस तयार छ,’ सहमहामन्त्री शाहीले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै लेखका छन्, ‘सबै जुटौ कोही नफुटौं ।’
शाही १४औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गरेका नेता हुन्। त्यसैगरी सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरबाट सुकुम्वासी नागरिकलाई हट्न दिइएको सरकारी उठीबासको सूचना एवम् निर्देशनले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । शाहीले गरिब तथा भूमिहीन नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार एवम् उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता नगरी नागरिकलाई विस्थापित गर्नु कुनै पनि दृष्टिले न्यायोचित हुन नसक्ने बताए । ‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ शाहीले भने ।










