काठमाडौँ । विश्वभर प्रत्येक वर्ष करिब १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ। ‘बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा शुक्रबार राष्ट्रसंघले यस्तो आह्वान गरेको हो। राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यस वर्ष पहिलोपटक यो दिवस मनाइँदै छ।
राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेकी छन्।
विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा रहेका छन्। त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्। पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेर २५ प्रतिशतबाट करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब २ करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी गरेको सन्देशमा बालविवाहको मूल कारण गरिबी रहेको र द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने उल्लेख गरेका थिए। पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित ६ करोड ८० लाख बालविवाह रोकिएको भए पनि वर्तमान प्रगतिको गति कायम रहे बालविवाह पूर्ण रूपमा अन्त्य हुन अझै करिब ३ सय वर्ष लाग्ने राष्ट्रसंघको आकलन छ। दिगो विकास लक्ष्य ५.३ ले सन् २०३० सम्ममा बालविवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ।
यसैगरी, राष्ट्रसंघीय बालकोष ९युनिसेफ० का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसंघीय महासभाको ८१ औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बोल्दै सन् २०३० सम्मको लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिएका थिए। बालविवाह मानवअधिकारको उल्लंघन भएको उल्लेख गर्दै उनले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक रहेको बताए।
बालविवाहले बालिकाको शिक्षा प्राप्त गर्ने अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा प्रतिकूल असर पार्नुका साथै किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्य जोखिम र लैंगिक हिंसाको सम्भावना बढाउने राष्ट्रसंघको ठहर छ। यसका लागि विवाह भइसकेका तथा गर्भवती किशोरीलाई पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने, बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नुपर्ने र सामाजिक तथा आर्थिक सुरक्षा बलियो बनाउनुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ।










