कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा



म्याग्दी, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आइपुगेकि छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उनि अन्नपूर्ण हिमाल आरोहण गर्न आइपुगेकि हुन् ।

काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा पुगेका छन् । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जाले अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन् ।

“हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भने “बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।”

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकि छन् । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।

नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । “दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हाँै,” उनले भने “निर्मल विश्वकै साहसिक युवा हो ।”

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार  ३ : ५० बजे