कञ्चनपुर, ३० फागुन । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले बिदा दिने निर्णय गरेको हो । होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ । राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खकडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ । होली पर्वमा भगवान् श्रीकृष्ण, रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ । जिउँदो होली माघ पूर्णिमादेखि फागुपूर्णिमासम्म महिला–पुरुष मिलेर ढोलको तालमा नाच्दै रातिका बेला गीत गाउँदै मनाउने गरिन्छ ।
होलीको टीकाको दिनदेखि आठौँ दिन खखडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ । खासगरी यो होली दिउँसो र राति दुवै समयमा खेल्ने गरिन्छ । फागुपूर्णिमा वा होलीको अन्तिम दिन वा फागुपूर्णिमापछिको आठौँ दिनलाई खखडेहरा पर्वका रूपमा मनाइन्छ । खखडेहरा पर्व विशेषतः होलीलाई पुनः मथुरामै अर्को वर्षसम्मका लागि फिर्ता गरी बिदाइ गर्नु रहेको स्थानीय रामसहाय रानाले बताए ।














