साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै



बझाङ, २१ चैत साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत्गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।

आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ । “आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्याङ्कनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुङ्गा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेकोे छ”, उनले भने ।

प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ ।

जलविद्युत् आयोजना साइपाल–४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको सङ्गमबाट करिब एक सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत् गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताए ।

देवकोटाका अनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युत्गृहस्थलमा नियमित अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार  ४ : ०७ बजे