पूर्वकोषाध्यक्ष ताम्राकारको निधनले दुई हप्ता पर सर्यो कांग्रेसको राष्ट्रिय जागरण अभियान



काठमाडौं वैशाख, ११–
कांग्रेसले पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि आजदेखि गर्ने भनेको राष्ट्रिय जागरण अभियान दुई हप्ता पछि सुरु गर्ने भएको छ । पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको जागरण अभियानलाई वैशाख २५ गते सारेको बताए । यसअघि नै कांग्रेसले जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाइसकेको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार २०४८ र २०५६ मा रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरिजाप्रसाद कोइराला सभापति भएका बेला ताम्राकार कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनेका थिए ।

ताम्राकार विभिन्न समयमा स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्रीसमेत बनेका थिए ।

विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका ताम्राकार पछिल्लो समय निमोनियाबाट पीडित थिए । चैत अन्तिम सातादेखि ललितपुरको अल्का अस्पतालमा आईसीयूमा भर्ना गरेर उनको उपचार हुँदै आएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे उनको निधन भएको हो ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  ५ : ३२ बजे