सरकारले केहि छोडेन, औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार :कांग्रेस सांसद मल्ल



डडेल्धुरा वैशाख, १३–
डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले कुनैदिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पर्ने दिन आउने बताएका छन् । सुदूरपश्चिम प्रदेश सभाका सांसद समेत रहेका मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् ।

बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा करोडौंको भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । उनले भने, ‘यस्ता कुराहरु पटक–पटक संसदमा उठाउँदा समेत सरकारका मन्त्रीहरुले जवाफदेहीता देखाएनन् । अब कुनै दिन प्रदेश सरकारले मसानघाट र प्रसूति गृहमा समेत भ्रष्टाचार गरेको सुन्न पाइनेछ ।’

वैशाख १२ गते आइपुग्दासम्म विकास निर्माणका कुराहरुमा अख्तियारी नदिइएको गुनासोसमेत उनले गरे । ‘पटक–पटक संसदमा कुरा आउँदा समेत विकास निमार्णमा छुट्टयाएको रकममा अख्तियारी दिइएन,’ उनले थपे ।

उनले दैवीप्रकोप, विपद् तथा दुर्घटनामा राहतका कुरालाई सरकारले उपहास गरेको आरोप पनि लगाए । सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

‘हामीले पहिलो र दोस्रो अधिवेशन धेरै वेथितिका कुराहरु संसदमा उठाएका थियौं, तर सरकार पक्षका सांसदहरुले त्यसमा रक्षाकवचका रुपमा उत्रिएर बचाउ गरेर हामीलाई ओझेलमा पारे,’ उनले भने, ‘यस्तै हो भने दुई तिहाइको दम्भ देखाइरहेको सरकारको हालत पाकिस्तानमा दुई तिहाइको सरकार बनाएका नवाज शरीफलाई जनताले ढलाएको जस्तो हुनेछ ।’

प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार  ५ : १६ बजे