संघीय संसदका दुबै सदनको चौथो अधिवेशन आजदेखि शुरु हुँदै



काठमाडौं वैशाख, १६–
संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन आजबाट शुरु हुने भएको छ । गत ८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन सोमबारदेखि शुरु हुने आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने सांसद राजधानी आइसकेका छन् ।

गत १० चैतमा तेस्रो अधिवेशन सकिएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या बुझ्न र आगामी वर्षका योजनाको विषयमा छलफल गर्न जिल्ला पुगेका थिए ।

राष्ट्रिपतिले अधिवेशन आह्वान गरेपछि संसद्मा राष्ट्रिय दलको मान्यता पाएका चार दलले आ–आफ्ना दलका दर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदलाई सहभागिताका लागि आह्वान गरेका थिए ।

नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम आगामी २० वैशाखमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ । संविधानमै व्यवस्था भएअनुरूप सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  १ : ४२ बजे