काठमाडौं, १५ जेठ । निर्वाचन अयोगले छलफलका लागि राजनीतिक दललाई बोलाएको छ । आयोगले शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मदतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएसँगै उक्त बिषयमा आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो।














