काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यथास्थितिमै रहने हो भने पार्टीमाथि संकट बढ्दै जाने बताएका छन्। पार्टीको जारि केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । पार्टीमा अहिले पलायनता, निष्कृयता र विद्रोहको मानसिकता देखिन थालेकोले यो स्थिति अन्त्य गर्नुपर्ने उनले बताए।
संकट पार लगाउन सिटामोलुले नपुग्ने, सर्जरी नै गर्नुपर्ने उनको भनाइ छ। ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरूरी छ,’ शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै पौडेलले भने, ‘पार्टीलाई सुधार गर्न जरूरी छ, सर्जरीकै आवश्यकता छ।’
वार्षिक क्यालेन्डरमा आएका कुराले मात्रै कांग्रेस रुपान्तरण हुन नसक्ने उनको भनाइ छ। कांग्रेस मासवेस्ड पार्टी भएकाले सदस्यता वर्गीकरण नहुने उनले बताए। ‘चाहनेले सदस्यताले पाउनेहुन्छ। एउटा मात्रै सदस्यता कायम हुनुपर्छ। सजिला प्रावधान राखेर सदस्यता दिइनुपर्छ,’ उनले भने।
वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नपुग्ने उनको भनाइ छ। संविधान संशोधन गरेर भएपनि त्यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले धारणा राखे।
पार्टीमा पनि सबै सदस्यले भोट हाल्ने व्यवस्था गर्न उनको माग छ। प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गर्न आग्रह गरेका उनले भने, ‘नेतृत्व सबै सदस्यले भोट हालेर चुन्ने व्यवस्था गरौं। हामीले पार्टीको एउटा व्यक्तिलाई चार पटक भन्दा बढी संघीय सांसद्को टिकट दिनुहुँदैन’ ।
उनले भ्रष्टाचारमा जोडिएकाहरूलाई छानबिनमा सहयोग गरिनुपर्नेका नोद्ध दिए ।
उनले समानुपातिकमा एक पटक मात्रै अवसर दिनुपर्ने बताए। ‘मुख्यमन्त्री र मन्त्री पनि २ पटक भन्दा बढी हुन दिनु हुँदैन,’ उनले भने।कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समिति बसेर अनुमोदन नभए बदर हुने व्यवस्था गर्न उनको माग छ।














