आपूर्तिमन्त्री मातृका यादवको निर्देशन गैरकानुनी



काठमाडौं जेठ, २–
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवकै निर्देशन गैरकानुनी भएको खुलेको छ । मन्त्री यादवले दूतावास र अदालतबाट सेयर खरिदबिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी भएको खुलेको हो । मन्त्री यादवको उक्त निर्देशन गैरकानुनी भएको उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले स्वीकारीसकेका छन् ।

उद्योग सचिव खतिवडाले बिहीबार संघीय संसदको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री यादवले दिएको सो निर्देशन गैरकानुनी भएको दाबी गरिन् । उनले उक्त निर्देशन खारेज गर्न पाउँ भनि दिएको उजुरीको विषयमा छलफल गर्ने क्रममा उद्योग सचिव खतिवडाले कम्पनी ऐनमा कहीँकतै उल्लेख नभएको विषयमा दिइएको निर्देशनलाई कानुनसम्मत भन्न नमिल्ने प्रष्ट पारेकी हुन् ।

गत असार २७ गते मन्त्री यादवले आफ्नो निजी सचिवालयमार्फत् कम्पनी रजिष्ट्रारको कार्यालयलाई सेयरको अभिलेख राख्ने व्यवस्था अदालत र राजदुताबासहरुमा पनि गर्न निर्देशनसहितको पत्र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाएका थिए । सो पत्र कानुन सम्मत नभएको दावी गर्दै खारेज गर्न समितिमा उजुरी परेको थियो । यद्यपि, उद्योग सचिव खतिवडाले सो निर्देशन कानुन सम्मत नभएपनि सुशासन ऐन सम्मत भएको भने स्पष्ट पारिन् ।

त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार अर्यालले मन्त्री यादवले निर्देशन दिएपछि आफूहरुले त्यसलाई कार्यान्वयनका लागि सबै ठाउँमा परिपत्र गर्नु परेको बताए । तर मन्त्री यादवको निर्देशन पछि अदालत र राजदुताबासबाट ३र३ वटा भन्दा बढि सेयर अभिलेख नभएको कम्पनी रजिष्ट्रारको कार्यालयको भनाइ छ ।

बैठकमा समितिका सदस्यहरुले भने मन्त्री यादवको सो निर्देशन कानुन विपरित भए÷नभएको सचिव खतिवडालाई प्रश्न गरेका थिए । समितिका सदस्य राधेश्याम अधिकारीले कम्पनी रजिष्ट्रारको कार्यालयले गर्ने सेयरको सनाखत सम्बन्धि काम किन अदालत र राजदुतावासलाई पनि दिइएको भनि सरकारको आलोचना गरेका थिए ।

समितिका सभापति रामनारायण बिडारीले सो उजुरीमाथि सम्बन्धित निकायसँग छलफल गर्ने काम सुरु गरिएको बताए । उनले मन्त्री यादवसँग स्पष्टीकरण लिएपछि सो सम्बन्धमा आवश्यक निर्देशन दिने तयारी गरिएको पनि बताए । दिए ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहिबार  १० : ५० बजे