प्रहरीको गोलीले पहिलोपटक विप्लवका कार्यकर्ता मारिए



भोजपुर जेठ, ८–
प्रहरीको गोलीले पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । मंगलबार दिउँसो प्रहरीको गोली लागेर भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । उनको तिघ्रामा गोली लागेको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उनको मृत्यु भएको जानकारी दिए ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उनको आरोप छ ।

‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा व्युरोका नेता शैलेसले अनलाइनखबरसँग भने, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हो ।’

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।

प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार  ५ : २१ बजे