काठमाडौँ, २२ असोज : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ ।
विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउछन् ।
“अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना हुनुहुन्छ”, थापाले भने ।
ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल शरद ऋतुका लागि एक महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउछन् । विसं २०७६ सालबाट सञ्चालित उक्त होटलमा ९२ कोठा रहेका छन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलका गल्लीमा विदेशी पर्यटक बढ्न थालेकोे बताए । उनले भने “पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद् लागेको छ ।”
रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उनको भनाइ छ । परिषद्ले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारलाई व्यवस्थापन गर्नेदेखि सिसि क्यामरा जडान र खाल्डो परेका सडक पुर्नका लागि सरोकारवाला निकायसँग सहकार्य समेत गरिरहेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२३ को नौ महिनामा छ लाख ९२ हजार तीन सय ७२ विदेशी पर्यटक नेपाल आएका छन् । जसमध्ये सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार छ सय ९४ जना भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, चिनियाँ पर्यटक आठ हजार एक सय ७४, अमेरिकी पर्यटक सात हजार तीन सय ६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसैगरी, बङ्गलादेशबाट तीन हजार सात सय १६, बेलायतबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११ जना, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ जना पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१, सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ र सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल भित्रिएका थिए।











