काठमाडौं जेठ, १४–
प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् । मोदीको शपथग्रहण कार्यक्रममा विदेशी कार्यकारी प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि भ्रमण ‘कन्फर्म’ गर्नेमा नेपालका प्रधानमन्त्री ओली रहेको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।
उक्त अनलाइनमा एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको भन्दै प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जाने जनाएको छ । बिहीबार साँझ ७ बजे भारतको राष्ट्रपति कार्यालयमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुने बताईएको छ । त्यसपछि भोलिपल्ट दुई देशबीच दुईपक्षीय वार्ता हुने बताइएको छ ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् ।
सो समारोहमा बिमस्टेकका सदस्य राष्ट्र तथा किर्गिस्तान र मोरिससका कार्यकारी प्रमुखको पनि सहभागिता हुने बताइएको छ । भारतका विदेश प्रवक्ता रभीस कुमारलाई उद्धृत गर्दै सो अनलाइनमा भारत सरकारको छिमेकी पहिलो नीतिअनुसार नै शपथग्रहण कार्यक्रममा विदेशबाट अतिथी निम्त्याइएको जनाएको छ ।
यसअघि निर्वाचनको मतगणना भइरहेकै बेलामा भाजपा निकै अगाडि देखिएपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्विटमार्फत बधाई दिएको कुराले पनि चर्चा पाएको थियो ।








