झापा, ८ मङ्सिर । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए ।
“वर्णशङ्कर बीउको विकास र प्रचलनका कारण पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौँ”, उहाँले भने, “कालो नुनियाजस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ ।”
समितिले भाडामा लिएको खेतको एउटै गरामा ८१ प्रजातिका धानका बाला झुलिरहेको हेर्नका लागि कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी र सर्वसाधारणसमेतको भीड लाग्ने गरेको छ । संरक्षण गर्न खेतमा फलाइएका रैथाने धान बालीमा कालो नुनियाका चार प्रजाति छन् । तीमध्ये कालो नुनिया–१ र कालो नुनिया–१० प्रजाति समिति आफैँले खोज गरेर सरकारी निकायमा नाम दर्ता गराएको हो ।
जुम्लामा फल्ने मार्सीदेखि पूर्वी पहाडको इलाममा पाइने दुधराज प्रजातिको धान उक्त खेतमा फलाइएको छ । बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धानसमेत त्यहाँ फलाइएको छ । समितिले रैथाने धान फलाइएको खेतलाई ‘प्रदर्शनी ब्लक’ नाम दिएको छ ।
त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन् ।
त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघ जुङ्गे धान उक्त खेतमा फलेको छ ।