काठमाडौं जेठ, १५–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नै गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् । बुधबार गण्तन्तत्र दिवसको अवसरमा रत्नपार्कको शान्तिवाटिकामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । उनले सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षीमा उभिएको जिकिर गरे ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र गणतन्त्रकै विपक्षमा उभिएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास छैन । यसले शासन व्यवस्थामाथि नै खतरा रहेको संकेत गर्छ । उहाँ लोकतन्त्र र गणतन्त्रको विपक्षीमा उभिनुभयो ।,’ आफूहरुले बराम्बार दुःख दिँदै आएको व्यवस्था (राजतन्त्र) अन्त्य गरेर लोकतन्त्र तथा गणतन्त्र ल्याए पनि अहिलेको सरकार यो व्यवस्था नै मास्न तर्फ लागेको सभापति देउवाको भनाइ छ ।
वर्तमान सरकारले विधेयकहरु मार्फत सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण कायम गर्न लागि परेको सभापति देउवाको आरोप छ ।
उनले भने,‘सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथिको नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै नियन्त्रण हो । यस्तो कार्य काँग्रेसका लागि हिजो पनि सहय भएन आज पनि सहय हुँदैन ।’
सरकारको रबैयाविरुद्ध लडाइ लड्नुपर्ने दिन सुरु भएको उनको भनाई थियो ।‘सरकारको गतिविधिले गर्दा फेरि लोकतन्त्र र गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउँदै छ । तपाईहरु तयार रहनुहोला । लोकतन्त्र र गणतन्त्र विरुद्धको कुनै पनि गतिविधि काँग्रेसलाई स्वीकार्य छैन ।’








