राजेश हमाल भन्छन : जुनसुकै बेला राजनीतिमा आउन सक्छु



काठमाडौं जेठ, २२–
महानायक राजेश हमालले राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । महानायक हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका हुन् । नयाँ पत्रिका दैनिकमा नायक हमालले दिएको अन्तर्वार्तामा आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताएका हुन्। भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए।

तपाईंको राजनीतिमा आउने सोच छैन ? भन्ने प्रश्नमा हमालले भनेका छन्, ‘मलाई राजनीतिमा चासो छ। राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु। तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन्। अहिले कलाकारितामा छु। दुबै ठाउँमा हात हाल्नु ठिक होइन। चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि मछुतो महसुस गरेको सबैलाई थाहा छ। तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन।’

त्यस्तै, कहिलेबाट आउनुहुन्छ त ? भन्ने प्रश्नमा हमालले भने, ‘कुन कित्तामा उभिएर राजनीति गर्छु भन्ने पक्का छैन। सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ।’

तपाईंले चाहनुभयो भने त जुनै पार्टीले पनि टिकट देलान् नि ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो उद्देश्य राजनीतिकको लागि राजनीति गर्ने होइन। त्यस्तो राजनीतिले खासै उपलव्धी दिएँदैन। खाली व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ। इमानदार भएर राजनीति गरियो भने नीति निर्माण तहमा केही प्रभाव पार्न सकिन्छ।

राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन पक्कै राजेश हमाल राजनीतिमा होमिने छ। जतिखेर पनि राजनीतिमा आउन सक्छु। त्यो दिन पनि आउला नि।’ त्यस्तै, चुनाव जित्नुभयो भने पहिलो काम के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। मैले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोसिस गर्छु। भ्रष्टाचाररहित विकासमा जोड दिन्छु।’

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  ६ : २४ बजे