पोखरा जेठ, २२–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाका अध्यक्ष केपी ओलीले कांग्रेसलाई गाली गरेर समृद्धिको सपना देखेको आरोप लगाएका छन् । उनले वाइडबडी काण्डको मुख्य नाइके प्रधानमन्त्री ओली रहेको भन्दै कांग्रेस सभापति देउवा वाइडबडीमा दोषी भएको भए कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार पोखरा महानगरपालिका ३१ मा आयोजित कांग्रेसको जनजागरण अभियान अन्तरगतको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस युवा नेता पौडेलले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे के तपाईंले शेरबहादुर देउवालाई मायाँ गरेर कारबाही नगरेको हो ? युवा नेता पौडेलले नेकपाका नेता घनश्याम भुसालको भ्रष्टाचारमा राष्ट्रिय सहमति हुन्छ भन्ने भनाइप्रति पनि आपत्ति जनाए । उनले राष्ट्रिय सहमतिमा भएको भ्रष्टाचारको प्रमाण पेश गर्न नेता भुसाललाई चुनौती समेत दिए ।
उनले भने, ‘भ्रष्टाचार राष्ट्रिय सहमतिमा होइन कम्युनिष्ट नेताको संलग्नतामा गरिन्छ ।’ उनले प्रश्न गरे कोसँग हो भ्रष्टाचारका राष्ट्रिय सहमति गरेको ?
उनले घनश्याम भुसालतर्फ इंगित गर्दै कहि कतै तपाईं पनि संलग्न त हुनुहुन्न भ्रष्टाचारमा ? नेता पौडेलले कांग्रेसमा जति नै ठुलो नेता भए पनि भ्रष्टाचारमा संलग्न भए एक मिनेट पनि कांग्रेसमा नराख्ने दावी गरे ।

उनले पार्टी भित्र युवा समुदायलाई आकर्षित गर्न गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए । उनले जागरण अभियानले पार्टीमा हलचल आएको बताए । नेता पौडेलले जागरण अभियानले पार्टीमा दुईथरी मत उत्पन्न भएको प्रष्ट पारे । उनले पहिलो धारणा अन्तरगत जागरण अभियानले अब कम्युनिष्टहरुलाई कमजोर बनाइयो अब अर्को चुनावमा चुनाव जितिहालिन्छ भन्ने तर, गाँउ कमिटिदेखि केनद्रसम्म संगठनको मतलवै नगर्ने देखिएको बताए ।
त्यस्तै, दास्रो मतमा यो नियमित काम हो यसले धेरै ठुलो उथुलपुथल नल्याउने सामान्य एक अर्काकोबीचमा संवादको वातावारण मात्रै भएको ठान्नेहरु रहेको उनको भनाइ छ । नेता पौडेलले पहिलो मत भन्दा दोस्रो मत नै उपयुक्त भएको समेत प्रष्ट पारे । उक्त कार्यक्रममा नेकपा तथा अन्य पार्टी परित्याग गरेर करिब दुई दर्जन कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेता पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटीृमा भित्र्याएका थिए ।









