काँग्रेसभित्र कुनै गुटबन्दी छैनः कांग्रेस नेता निधि



चितवन– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।

बिहिबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने उल्लेख गरे ।
निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको भन्दै महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको जनाए । ‘काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन’ निधिले भने ।
सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।
फरक प्रसङ्गमा उहाँले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताए ।

प्रकाशित मिति : असार १९, २०७६ बिहिबार  ६ : ०६ बजे