काठमाडौं । नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदमा स्थगनको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस र राजपाले संसदको नियमित कार्यसूची स्थगित गरि बाढी पहिरोले देशभर पुर्याएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे छलफल गर्न माग गरेका हुन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले देश बाढी पहिरोले आक्रान्त भएका बेला अन्य विषयमा छलफल गर्नु सान्दर्भिक नहुने भएकाले स्थगन प्रस्ताव दर्ता गरिएको बताए । स्थगन प्रस्ताव दर्ता गर्ने प्रस्तावकमा काँग्रेस सांसदहरु डाक्टर मिनेन्द्र रिजाल र पुष्पा भुषाल छन् भने राजपाबाट अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव रहेका छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ७८ (१) अनुसार अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि बैठकको कार्यक्रम स्थगित गरियोस भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।
नियमावली अनुसार बैठक सुरु हुनुभन्दा दुई घण्टा अघि संसद सचिवालयलाई जानकारी गराउनुपर्ने भएकाले विहान ११ बजे प्रस्ताव दर्ता गराइएको काँग्रेस सांसद रिजालले जानकारी दिए। प्रतिनिधिसभा बैठक अहिले १ बजेलाई बोलाइएको छ ।








