काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । विपक्षी नेपाली कांग्रेस र राजपाले बाढी, पहिरो र डुबानबारे संसदमा छलफल गर्न राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
संसदको अर्को बैठक ८ साउनमा बस्नेछ । कांग्रेस र राजपाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी बाढी, पहिरो र डुबानबारे संसदमा छलफल गर्ने प्रस्ताव सोमबार संसद सचिवालयमा दर्ता गराएका थिए ।
कांग्रेस र राजपाले संसदको नियमित कार्यसूची स्थगित गरि बाढी पहिरोले देशभर पुर्याएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे छलफल गर्न माग गरेका हुन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले देश बाढी पहिरोले आक्रान्त भएका बेला अन्य विषयमा छलफल गर्नु सान्दर्भिक नहुने भएकाले स्थगन प्रस्ताव दर्ता गरिएको बताए । स्थगन प्रस्ताव दर्ता गर्ने प्रस्तावकमा काँग्रेस सांसदहरु डाक्टर मिनेन्द्र रिजाल र पुष्पा भुषाल छन् भने राजपाबाट अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव रहेका छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ७८ ९१० अनुसार अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि बैठकको कार्यक्रम स्थगित गरियोस भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।
नियमावली अनुसार बैठक सुरु हुनुभन्दा दुई घण्टा अघि संसद सचिवालयलाई जानकारी गराउनुपर्ने भएकाले विहान ११ बजे प्रस्ताव दर्ता गराइएको काँग्रेस सांसद रिजालले जानकारी दिए। प्रतिनिधिसभा बैठक अहिले १ बजेलाई बोलाइएको छ ।
उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने सांसदहरुलाई सदस्यहरुलाई उद्धार, राहत र पुनर्स्थापनामा संलग्न गराउने पर्ने प्रस्तावमा उल्लेख छ ।










