दुई पार्टीबीचको एकतालाई असफल बनाउन प्रतिक्रियावादीको षडयन्त्रः अध्यक्ष प्रचण्ड



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले उक्त षडयन्त्रबाट सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका हुन् । उनले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको दावी समेत गरे ।
उनले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको पनि जानकारी दिए ।

अध्यक्ष दाहालले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको पनि बताए ।
उनले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दावी गरेका छन् । अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताएका हुन् ।

प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने अध्यक्ष दाहालको भनाई छ ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ११ : ४४ बजे