काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ।
आइतबार मेयर बालेन भेट्नका लागि अन्सारी काठमाडौँ महानगरको कार्यालयमा पुगेका थिए।
भेटमा बालेनले मध्यपूर्व क्षेत्रमा कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गरेका थिए।
‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तरराष्ट्रिय स्तरमा ख्याती रहेको छ,’ उनले भनेका थिए।
खेलजस्तै नागरिक स्तरमा तत्काल र प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो।
राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गरेको मेयरको सचिवालयले बताएको छ। कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै राजदूत अन्सारीले भने, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरुले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ।’
भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो।
त्यस क्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति मित्रताको चिनो स्वरुप उपहार दिएका थिए।














