जीवन शर्मा
ओखलढुंगा,२१ साउन
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ को साँघुटारका अग्नी पिडितलाई नेपाली कांग्रेस ओखलढुंगाले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस ओखलढुंगाले काठमाण्डौमा बसोवास गर्ने पार्टीका नेताहरु संग संकलन गरेर राहत स्वरुप एक लाख अठ्ठाइस हजार छ सय आर्थिक सहयोग गरेको हो । आज नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप कुमार सुनुवार,उपसभापति तेजेन्द्र खनाल, महासमिति सदस्य डिल्लीराम खनाल, जिल्ला सदस्य भोजकुमार श्रेष्ठ लगायतको टोली घटनास्थलमै पुगेर आर्थिक सहयोग गरेको जिल्ला उपसभापति तेजेन्द्र खनालले जानकारी । अग्नी पिडितहरुको घाउमा थोरैभएपनि मल्हम लगाउन कांग्रेसका जिल्ला सदस्य तथा अन्य नेताहरुबाट व्यत्तिगत सहयोग जुटाएर आर्थिक सहायता उपलब्ध गराएको खनालले बताए ।
गत साउन ९ गते साँघुटारमा आगलागी हुँदा ओखलढुंगा सिंहदेवीका राजन सुवेदी, नर्मदेश्वर अकिंत श्रेष्ठ, हिरा श्रेष्ठ, सिंहदेवीका रविन खत्री, पलापुका अनिश मगर, हरीमाया मगर र बरुणेश्वर लामिडाडाका राजेश दाहालको घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति भएको थियो । उनिहरुको क्षति ठुलो मात्रामा भएपनि दुखका समयमा सम्झना स्वरुप सो राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेसका महासमिति सदस्य डिल्लीराम खनालले बताए । उनिहरु सबै ओखलढुंगा जिल्लाका भएपनि रामेछापको साधुटारमा गएर विभिन्न व्यवसाय गर्दै घर बनाएका थिए ।
आगलागी पिडितलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेसका नेता कान्छाराम तामाङ र रामेछाप कांग्रेसका सभापति लव न्यौपानेले गत शनिबार नै आर्थिक सहयोग प्रदान गरेका थिए । पूर्वसांसद खतिवडाले ३३ हजार ३ सय ५५ रुपियाँ, रामेछाप कांग्रेसका सभापति लव न्यौपानेले पार्टीको तर्फबाट १ लाख ८३ हजार १५ रुपियाँ तथा कान्छाराम तामाङले १ लाख ३ हजार सहयोग प्रदान गरेका थिए । त्यस्तै नेपाली कांग्रेस रामेछाप नगर समितिले ३ लाख १९ हजार ३ सय ७० रुपियाँ प्रदान गरेका थिए । अग्नी पीडितहरूलाई सोही समयमा जिल्ला प्रशासन कार्यालय रामेछापले समेत प्रतिघर १० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त घरहरूमा विद्युत सर्ट भएर अकस्मात आगालागी भएको रामेछाप प्रहरीका प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।










