काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी प्रकरणमा गल्ती गरेकाहरुले उन्मुक्ति पाउछु भनेर नसोचे हुने दाबि गरेका छन् । सुदुरपश्चिम प्रदेशको प्रचलित भुवो पर्व विशेष कार्यक्रममा उनले यस्तो दाबि गरेका हुन् ।
उनले सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार छानबिनको काम पनि अगाडि बढेको भन्दै उन्मुक्ति पाउछु भनेर कसैले नसोचे पनि हुने बताए । उनले भने, ‘समाजमा भएको विकृति विसंगतीलाई पराजित र भ्रष्टाचार न्यूनीकरणमा लागि परेका छौ । सहकारीको क्षेत्रमा जुन खालको भद्रगोल र बचत अनियमितता गर्ने काम भइरहेको छ । त्यो राम्रो होइन् । समस्याग्रस्त २२ वटा सहकारीहरुको अनुसन्धानको लागि प्रतिनिधि सभामा उपस्थित सम्पूर्ण दलहरुको सहभागिता हुनेगरी गठन गरिएको समितिले प्रतिवेदन दिएको छ र त्यो प्रतिवेदनले देखाएको संस्था र व्यक्तिप्रति छानबिनको काम पनि अगाडि बढाएको छ । छानबिनमा गल्ती गरेको छैन् भने डराउनु परेन । गल्ती गरेको छ भने पनि उन्मुक्ति पाउछु भनेर कसैले नसोचे हुन्छ ।’
उनले भने, ‘गल्ती गरेकाहरुलाई कारवाही गर्नको लागि, त्यसको कार्यान्वयन गर्नको लागि, बचत फिर्ता गर्नका लागि र देशमा रहेको कानूनहरुले गर्दा काम प्रभावकारी नभएको र नियमन पनि नभएको हुनाले प्रभावकारी शक्तिसम्पन्न प्राधिकरण गठन गर्ने, त्यसले सहकारीको क्षेत्रलाई व्यवस्थित गर्ने काम गर्छ । बचत रकम संरक्षण गर्नको लागि सहकारी संरक्षण कोषको स्थापना गर्नको लागि पनि लागेका छौ ।’
६९ हजार बचतकर्ताहरुको रकम फिर्ता गर्ने काममा सरकार लागेको भन्दै सहकारी सम्बन्धी कानूनहरु एकिकरण गर्नको लागि बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको पनि उनको भनाई छ । उनले देशमा रहेका कतिपय कानूनहरुले गर्दा सहकारी सम्बन्धी कामहरु प्रभावकारी र नियमन नभएको भन्दै यसका लागि प्राधिकरण गठन गर्ने बताए ।














