नेकपामा अब नेताहरु बिरुद्द बोले कार्बाही



काठमाडौं –

नेकपाका कार्यकर्ताले कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीका सोमबार बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको हो।

पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले आफूलाई लागेका कुराहरु उठाउनुपर्ने छ’, बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने छ।’उनका अनुसार, पार्टीभित्र कुरा नराखी सार्वजनिक रुपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिनेछ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल अध्यक्षतामा आज पहिलो पटक बैठक बसेको हो ।  अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हाल स्वास्थ्योपचारका लागि सिङ्गापुरमा छन्।

अध्यक्ष दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा पार्टीभित्रको अनुशासन खस्कँदै गएको भन्दै पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गरिने सङ्केत गरेका थिए।

प्रकाशित मिति : भदौ ९, २०७६ सोमबार  १० : ५९ बजे