भक्तपुर-
नेपाली कांग्रेसको प्रदेश नं . ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडेमा शुक्रबाट सुरु भएको छ ।पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौं गरी ७ जिल्लाका करिब २ सय ८१ जनालाई शुक्रबारबाट दुई दिने प्रशिक्षण शुरु गरेको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै काँग्रेस सभापति देउवाले लोकतन्त्रको लागि नेपाली काँग्रेस निरन्तर लड्ने बताए । स्वतन्त्र रूपमा लेख्न र बोल्ने नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै देउवाले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै एक भएर यसका विरुद्ध आवाज उठाउनु पर्ने भनाई राखे । देउबाले कम्युनिष्ट सरकारले स्वतन्त्र प्रेसको अधिकार खोसेर देशमा सर्बसत्ताबाद लाद्न खोजेको बताए ।
तेस्तै सभापती देउबाले पार्टी भित्र अन्तर्घात गर्नेलाई कारबाही गरिनेमा जोड दिदै टिकट पाइन भनेर एकले अर्कोलाई हराउन खोजेर काँग्रेसका नेताहरूको पराजय भएको बताए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता सञ्चालनमा असफल भएपछि कम्युनिष्टहरुले प्रतिगमन आउन लागेको हौवा फैलाएको बताए ।वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरु सत्ता सञ्चालन गर्न असक्षम हुन्छन भन्ने पुष्टी भइसकेको बताए ।
उनले भने,‘प्रतिगमन आउन लाग्यो भनेर कम्युनिष्ट नेताहरु अत्तालिन थालेको देखिन्छ । यो केको परिणाम हो ? सत्ता सञ्चालन गर्न नसकेपछि प्रतिगमनको हौवा फैलाउन लागेको छन् । यो सरासर कम्युनिस्ट सरकारको पूर्ण असफलताको परिणाम हो । यो सरकार असफल भएको छ । दुईतिहाइ बहुमत पाएर पनि यो सरकार असफल भएको छ ।’
उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले प्रदेशको नाम र राजधानीसमेत टुंग्याउन नसकेकोमा आपत्ती जनाए । आपत्ति जनाए । वरिष्ठ नेता पौडेलले कांग्रेसको पालामा २५–२६ किलोमिटर सुरुङ खनेर टुङ्ग याउन लागेको सुन्दरीजल खानेपानी आयोजना समेत सरकारले लथालिङ पारेको आरोप लगाए ।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले विगतका कमीकमजोरीलाई सच्याएर अगाडी बढ्नुपर्ने भन्दै प्रशिक्षण र जागरण कार्यक्रमबाट अरुलाई दोष लगाउने कार्यबाट मुक्त हुनुपर्नेमा जोड दिए ।
उपशभापती निधिले पार्टीमा विगतका कमीमजोरी वर्षौसम्म रहिरहनु सकरात्मक नभएको टिप्पणी गरे ।
उद्घाटन सत्रमा बोल्दै महामन्त्री डा . शशाङ्क कोइरालाले काँग्रेस एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।महामन्त्री कोइरालाले पार्टी गुटबन्दिका कारण पार्टी कमजोर बनेकोले आफुले पटक पटक गुटबन्दी छोडेर एक्जुट हुन नेताहरुलाई आग्रह गरिरहेको बताए ।
महामन्त्री कोइरालाले पार्टीका कार्यकर्ता सक्षम र सवल भएको तर नेताहरुकै कारण पार्टिमा समस्या आइरहेको टिप्पणी गरे ।कोइरालाले युबाहरुलाई बिषेष भूमिका दिएर पार्टिलाई शसक्त बनाउन जरुरिकोमा जोड दिदै देशमा अब कांग्रेसको बिकल्प नभएको उल्लेख गरे ।
कोइरालाले बर्तमान सरकारका कारण देशमा संस्थागत भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दुरुपयोग अत्याधिक बढेकोमा चिन्ता ब्यक्त गर्दै भ्रष्टाचारको बिरुद्द डटेर लाग्न समेत सबैलाई आग्रह गरे ।
तेस्तै नेता कृष्णप्रसाद सिटौलाले पार्टीमा केन्द्रीय तहदेखि नै गुटबन्दीको अन्त्य गर्नु पर्ने उल्लेख गर्दै आसेपासेको मात्र कुरा सुनेर पार्टीमा एकतन्त्र लागू गर्न नहुनेमा जोड दिए । नेता सिटौलाले सरकारले गरेका हरेक गलत कार्यको विरोध संसद र सडकमा गर्दै पार्टीलाई तल्लो तहसम्म सक्रिय बनाउनुपर्ने धारणा राखे ।
प्रशिक्षण कार्यक्रम दुइ दिन सम्म चल्ने छ । प्रदेश नं ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ








