गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको काम गर्ने गति अपेक्षाअनुसार अगाडि नबढेको टिप्पणी गरेका छन्।
गुल्मीमा आयोजित नेपाली कांग्रेसको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
‘सरकारको गति अझै पर्याप्त देखिएको छैन। दुई दलीय संयन्त्रको बैठकमा होस् वा अन्यत्र, मैले निरन्तर यही कुरा उठाइरहेको छु,’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीलाई समेत मैले यही कुरा भनेको छु।’
थापाले भ्रष्टाचारको विषयमा जनस्तरमा गहिरो निराशा फैलिएको उल्लेख गर्दै अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले गलत कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सके मात्रै जनतामा भरोसा फर्कन सक्ने धारणा राखे।
‘गलत गर्ने जो भए पनि कारबाही हुनु जरुरी छ। दोषीलाई सजाय दिएरै भए पनि नागरिकमा विश्वास जगाउन सकिन्छ,’ उनले स्पष्ट पारे।














