गाईसहितको ट्रक र चालक नियन्त्रणमा



डडेल्धुरा,

डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पुर्याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक र त्यसका चालक प्रकाश थापा तथा सुरेन्द्र चन्दलाई उक्त नगरपालिका–५ स्थित तुफानडाँडाबाट प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहरा नेतृत्वको टोलीले नियन्त्रमा लिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

गाई कुन नियतले लैजान खोजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको र जुन ठाउँबाट गाई ल्याइएको हो ती ठाउँका व्यक्तिलाई जिम्मा लगाउन प्रहरी र स्थानीय जनप्रतिनिधिलाई निर्देशन गरिसकिएको उनले जानकारी दिए ।अमरगढी नगरपालिका–६ का भरत ताम्राकारले भीमदत्त राजमार्गका छाडागाई र अन्य गाईलाई हामी मुगु लौजाँदै छौँ तपाईको वडाबाट हामीलाई अमरगढी नगरपालिका–७ र ८ मा पर्ने रातागनुमा गाई सङ्कलनका लागि सहयोग गरिदिनु पयो अनि मुगु जिल्ला लगेर छोड्छौँ भन्दै वडा कार्यालयमा आएकाले आफूलगायत ६० वडाबसीको उपस्थितिमा सहमति भई शुक्रबार १४ वटा गाई पठाइएको गन्यापधुरा–१ वडाध्यक्ष चेतराज भट्टले जानकारी दिए ।उनले छाडा चौपायाका कारण राजमार्गमा हुने दुर्घटना र बालीनाली क्षति रोक्न सहयोग गरिएको तर कुन नियतले यस्तो गर्न खोजिएको हो थाहा नभएको बताए ।

नियन्त्रणमा लिइएका गाई सम्बन्धित ठाउँमा जिम्मा लगाइएको र गाई लैजान खोजेको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार  ८ : २७ बजे