काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् ।
नेपाल मुस्लिम संघले नयाँ वर्ष, २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् ।
देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए ।
‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’ “यस संविधानमा रहेको निर्वाचन प्रणालीले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ । तर, बहुमत आउन गाह्रो भए पनि सबैलाई मिलाउन सक्ने संविधान छ,” देउवाले भने, “आदिवासी जनजाति, महिला, मुस्लिमसहित सबैको प्रतिनिधित्व यस संविधानले सुनिश्चित गरेको छ ।”









