काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नरको विषयमा सहमति भइसकेको भन्दै नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् ।सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन ।
उनले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए । मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सक्ने गभर्नर ल्याउनुपर्ने भएकोले ढिलाई भएको दाबि गरे ।
उनले भने, ‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरुको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन । हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नरको समस्या चाँडै समाधान हुन्छ । अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको । कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ ।’
सरकार शिक्षकका मागहरूप्रति संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे ।














