इजरायल र इरानका नेपालीहरुको रजिष्ट्रेसन जारी, चाँडै उद्धार गरिने



काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी हुन ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा.राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएन् ।

मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूताबासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उहाँहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिए ।

उहाँले भनिन्,‘जिटुजी प्रक्रिया अन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरु स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ ।’

बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र उहाँहरु स्वदेश फर्कन चाहनुभएमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताइन् । उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरुलाई श्रम स्वीकृति नदिइ रोकि राखिएको पनि बताएकी छिन् ।

प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार  ४ : २६ बजे