भक्तपुर, १२ असोज :
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन ।
नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेलले उक्त भनाइ राखेका हुन ।
सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको बताए ।काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ नेता पौडेलले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने सुझाब दिए ।
वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको पौडेलको गुनासो थियो ।
कार्यक्रममा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै काङ्ग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।रासस










